निर्वाचनमा शान्ति सुरक्षालाई थप मजबुत बनाउन मानव अधिकार आयोगको आग्रह
माघ १३, २०८२ | काठमाडौं
राष्ट्रिय मानवअधिकार आयोगले आसन्न निर्वाचनमा शान्ति सुरक्षालाई थप मजबुत बनाउन सरकारलाई निर्देशन दिएको छ । आयोगले निर्वाचन र शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य अभिव्यक्ति बन्द गर्न समेत आग्रह गरेको छ ।
घृणाजन्य अभिव्यक्तिले समाजमा घृणा फैलाउनुका साथै शान्तिसुरक्षामा समेत चुनौती सिर्जना गर्ने भएकाले शान्तिसुरक्षा मजबुत बनाउन आग्रह गरिएको आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जानकारी दिनुभयो ।
आयोगले संविधान, कानून र मानव अधिकारका अन्तर्राष्ट्रिय मूल्यमान्यता विपरीत घृणाजन्य अभिव्यक्ति नदिन, सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट एवम् मर्यादित भएर एकअर्काप्रति मानव अधिकारमैत्री भाषाको प्रयोग गर्न, घृणायुक्त अभिव्यक्तिको प्रचारप्रसार नगर्न र निर्वाचन आचारसंहिताको पूर्ण पालन गर्न राजनीतिक दलका नेता, उम्मेदवार र सर्वसाधरणलाई आग्रह समेत गरेको छ ।
आयोगले आगामी फागुन २१ ग्ते हुने निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीति दलका जिम्मेवार व्यक्तिहरुबाट एकअर्काप्रति आक्षेप लगाउने, अमर्यादित आरोप प्रत्यारोपप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।











