पूर्वउपकुलपति भण्डारीसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
माघ १५, २०८२ | काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्राध्यापक डाकटर संगिता सिंह भण्डारीसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानका तत्कालीन उपकुलपति भण्डारी र तत्कालीन कामु रजिस्ट्रार कैलाशप्रसाद देवसहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
भण्डारी र देवसहित तत्कालीन निर्देशक डाक्टर सागर पन्थी, रेडियोलोजी विभागका तत्कालीन प्रमुख बोम वीसी, बायोमेडिकल इन्जिनियर शरद भण्डारी र आसुतोष भण्डारी, त्रिवि शिक्षण अस्पताल महाराजगन्जका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, प्रतिष्ठानका तत्कालीन अधिकृतहरु झंकार लामिछाने, लीलाकुमारी देवकोटा, मेघबहादुर अधिकारी र लेक्चरर श्रीसिया पोखरेललाई प्रतिवादी बनाइएको छ ।
उनीहरुविरुद्ध ७ करोड ३१ लाख ८२ हजार ९ सय ८५ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना, कैद सजाय र हिनामिना भएको रकम असुलउपरको माग दाबी लिएको छ । दाङको घोराही उपमहानगरपालिकास्थित प्रतिष्ठानका लागि सिटी स्क्यानका उपकरण खरिदमा उपकुलपतिसहितको मिलेमतो गरी अनियमितता भएको उजुरी अख्तियारमा परेको थियो ।
कम गुणस्तरक उपकरण खरिद गरी आर्थिक अनियमितता गरेको उजुरीपछि अघि बढेको अनुसन्धानमा उपकुलपति, कर्मचारी र ठेकेदारको मिलेमतोमा अनियमितता गरेको पाइएपछि संलग्नविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ ।











