निर्वाचन आचारसंहिता उल्लंघनमा २१ स्पष्टीकरण सोधियो
माघ १५, २०८२ | काठमाडौं
निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेका राजनीतिक दल, उम्मेदवार र संस्थालाई २१ वटा स्पष्टीकरण सोधिएको जनाएको छ । आचारसंहिता लागू भएदेखि हालसम्म सोधिएका स्पष्टकरणमा पाँच वटा जवाफ प्राप्त भएको र बाँकी जवाफका लागि ताकेता भइरहेको आयोगद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै, मिथ्या /भ्रमणपूर्ण सूचना र घृणास्पद अभिव्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनी दायरामा ल्याउनसूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत सुचना सदाचार प्रबद्र्धन ईकाइ क्रियाशिल रहेको जनाएको छ ।
३ सय २ वटा हानिकारक सूचनालाई निर्वाचन आचारसंहिता, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, र प्रेस काउन्सिल ऐन बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।आचारसंहिता अनुगमनलाई प्रभावकारी कार्यान्वयन गर्न निर्वाचन आचारसंहिता अनुगमन अधिकृतसमेत तोकिसकिएको आयोगको भनाइ छ ।
यसैबीच, निर्वाचन आयोगले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई स्पष्टीकरण सोधेको छ । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राउतमाथि निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेको हो । आयोगका कानुन अधिकृत मोहनराज जोशीले पठाएको पत्रमा ३ दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।











