जेन जी आन्दोलनपछि पहिलो पटक बसेको राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित
फाल्गुन १, २०८२ | काठमाडौं
जेन जी आन्दोलनपछि पहिलो पटक बसेको संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाले तीन वटा विधेयक पारित गरेको छ । माघ ४ गतेबाट शुरु भएको राष्ट्रिय सभाको १९ औं अधिवेशनका क्रममा तीन वटा अध्यादेश समेत स्वीकृत भएका छन् । राष्ट्रिय सभाले पर्यटन विधेयक, चलचित्र विधेयक र राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित गरेको हो । एउटा विधेयक भने विधायन समितिमा पठाइएको छ।
राष्ट्रिय सभाको बैठकमा झन्डै एक दर्जन प्रतिवेदन पेश भएका थिए । सभाले राष्ट्रिय सदाचार नीति र अध्यागमन ऐनसम्बन्धी प्रतिवेदनसहित केही प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई निर्देशन समेत दिएको छ । १९ औं अधिवेशन फलदायी भएको अध्यक्ष नारायण दाहालले बताउनुभयो ।
जेन जी आन्दोलनका क्रममा गरिएको आगजनी र तोडफोडबाट संसद भवन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्था गरेर राष्ट्रिय सभाको बैठक सञ्चालन गरिएको थियो । यसैबीच, सरकारको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज रातिबाट लागू हुने गरी राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्नुभएको छ ।








