सर्लाही–२ बाट महिन्द्रको तेस्रो जित, राजेन्द्र महतो पराजित

मंसिर १०, २०७९ | सर्लाही

सर्लाहीको क्षेत्र–२ बाट प्रतिनिधि सभा सदस्यमा महिन्द्र राय यादव निर्वाचित हुनु भएको छ । माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनाव लडेका यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै लगातार तेस्रो पटक विजयी हुनु भएको हो । 

प्रतिनिधि सभामा महतोसँग भने यादवको यो दोस्रो जित हो । सत्ता गठबन्धन तर्फको आधिकारिक उम्मेदवार यादवले गठबन्धनकै अर्को दल लोसपाका महतोलाई २ हजार ११ मतान्तरले पराजित गर्नु भएको हो । 

क्षेत्र–२ को सदरमुकाम मलंगवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार यादवले २३ हजार ५ सय २९ मत ल्याउँदा महतोले २१ हजार ५ सय १८ मत प्राप्त गर्नु भएको छ । 

सर्लाहीको क्षेत्र–२ मा जसपा–एमाले गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार राज नारायण साहले १४ हजार ८ सय १९ मत प्राप्त गर्नुभयो । यस पटकको निर्वाचनको मतगणनामा यादव र महतोबीच लुकामारी चलेको थियो ।

 सुरुवाती अग्रता पाएका यादवलाई महतोले उछिन्ने तथा महतोलाई उछिन्दै यादव अग्रस्थानमा पुग्नु भएको थियो । यसअघि २०७० को निर्वाचनमा यादव महतोसँग २ हजार ५ सय मतान्तरले विजयी हुनु भएको थियो । ०७४ को चुनावमा महतोले भने धनुषाबाट चुनाव लड्नु भएको थियो ।


प्रतिक्रिया