स्वरसम्राट नारायण गोपालको ३२ औँ स्मृति दिवस, विभिन्न कार्यक्रम गरिँदै

मंसिर १९, २०७९ | काठमाडौं
नेपाली सांगीतिक क्षेत्रका स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३२ औँ स्मृति दिवस आज । विभिन्न कार्यक्रम गरी उहाँको सम्झना गरिँदैछ । वि सं १९९६ मा असोज १८ गते काठमाण्डौंको किलागलमा जन्मिएका उहाँको निधन वि सं २०४७ मंसिर १९ गते भएको थियो । उहाँको सम्झनामा आज नारायण गोपाल संगीत कोषले आज काठमाण्डौंको जमलस्थित राष्ट्रिय नाचघरमा विशेष कार्यक्रमको आयोजना गरेको छ । अपरान्ह ३ बजे हुने कार्यक्रममा अन्नपूर्ण अकेष्ट्राको साथमा नारायण गोपालका विभिन्न १९ वटा गीतलाई नयाँ पुस्ताका कलाकारले गाएर विशेष सम्मान अर्पण गर्ने कोषले जनाएको छ ।
वि सं २०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गर्नुभएका उहाँले थुप्रै कालजयी गीत गाउनुभएको छ । उहाँलाई २०२३ सालमा सर्वोत्तम संगितकार, २०२४ सालमा सर्वोत्तम गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिणबाहु चौथो, २०४० सालमा इन्ऽ राज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कारबाट सम्मान गरिएको थियो यस्तै २०४८ सालमा त्रिशक्तिपट्ट तेस्रो पुरस्कारले मरणोपरान्त सम्मान गरिएको थियो ।
उहाँका म त लालीगुँरास भएछु, ए कान्छा ठट्टैमा यो वंश जान लाग्यो, एउटा मान्छेको मायाले लगायतका थुप्रै कालजयी गीतहरु आज पनि उत्तिकै लोकप्रिय छन् ।
यसैबीच स्वर सम्राट नारायण गोपालको ३२ औँ स्मृति दिवसको अवसरमा दुई संगीतज्ञलाई सम्मान गरिने भएको छ । नारायण गोपाल संगीत कोषका अनुसार यसवर्ष गीतकार राजेन्द्र थापा र संगीतकार प्रकाश गुरुङलाई सम्मान गर्न लागिएको हो ।