एनभीए महिला तथा पुरुष लिग भलिबल भोलिबाट हुँदै, विजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने

जेष्ठ ७, २०८२ | काठमाडौं

एनभीए महिला तथा पुरुष लिग भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजक नेपाल भलिबल संघले भोलिदेखि पोखराको कभर्डहलमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । संघको आयोजनामा पहिलो पटक मोफसलमा हुन लागेको प्रतियोगिताको पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, विभागीय एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब, कोशी प्रदेश भलिबल टिम, गण्डकी प्रदेश भलिबल संघ, सुदूरपश्चिम प्रदेश भलिबल टिम र बुटवलको मणिमुकुन्द भलिबल क्लब सहभागी हुनेछन् ।

महिलातर्फ विभागीय एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब,न्यू डायमण्ड युथ स्पोर्टस क्लब, बुटवलको एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेश भलिबल टिम सहित ६ टोली सहभागी हुनेछन् ।

सहभागी टिमलाई ३ जनासम्म विदेशी खेलाडी राख्न पाउने व्यवस्था मिलाइएको संघले जनाएको छ । प्रतियोगितामा विजेता बन्ने पुरुष र महिला दुवै विधाका टिमलाई समान पुरस्कार राखिएको छ ।

प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टिमलाई २ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । 


प्रतिक्रिया