बाँकेमा किसानलाई निःशुल्क बिरुवा वितरण गर्न सुरु

असार ३०, २०८१ | बाँके

डिभिजन वन कार्यालय बाँकेले किसानका लागि बहुवर्षीय र ढिलो बढ्ने प्रजातिका बिरुवा वितरण गर्न सुरु गरेको छ ।

 कार्यालय परिसरको नर्सरीमा उत्पादन गरिएका विभिन्न जातका बिरुवा किसानलाई आजबाट निःशुल्क रुपमा वितरण गरिएको हो । डिभिजन वन अधिकृत अजित कुमार कर्णले वितरणका लागि नर्सरीमा एक वर्षे जातको ७९ हजार र बहुवर्षीय २ लाख ९ हजार ७ सय बिरुवा उत्पादन गरिएको जानकारी दिनुभयो । 

यस वर्ष वन कार्यालय परिसरमा विभिन्न जातका दुई लाख ८८ हजार सात सय बिरुवा उत्पादन गरिएको छ । वन अधिकृत कर्णका अनुसार नर्सरीमा एक वर्षे बिरुवा अन्तर्गत दुई लाख नौ हजार सात सय बिरुवा उत्पादन गरिएका छन् ।

 वन पैदावार आपूर्ति समिति अन्तर्गत १० लाख, जडीबुटी विकास कार्यक्रम अन्तर्गत संघ अनुदान ६ लाख र कृषि वन तथा बृहत्तर हरियाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत चार लाख गरेर कुल २० लाख रुपैयाँको लागत खर्चमा सो संख्यामा बिरुवा उत्पादन गरिएको सहायक वन अधिकृत नवराज शाहीले बताउनुभयो ।

 उहाँका अनुसार डिभिजन वन कार्यालयसहित जिल्लाका अन्य ६ वटा सब डिभिजन कार्यालयमा यसवर्ष पाँच लाख २९ हजार सात सय बिरुवा उत्पादन भएका छन् ।


प्रतिक्रिया