धनुषा जिल्ला प्रहरी कार्यालयबाट ९ जना थुनुवा फरार

आश्विन ७, २०८१ | जनकपुर

धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षबाट सोमबार बिहान ९ जना थुनुवा फरार भएका छन् । प्रहरी कार्यालयको हिरासत कक्षको नयाँ भवनको पश्चिमपट्टिको भेन्टिलेटर फोडेर थुनुवाहरु फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी रञ्जन अवाले बताउनुभयो । 

सोमबार बिहान करीब ४ बजेतिर हिरासत कक्षको भेन्टिलेटर फोडेर फरार भएका मध्ये एक जनालाई पक्राउ गरिकएको डीएसपीले जानकारी दिनुभयो । 

फरार अन्य ८ जना थुनुवाको खोजी भइरहेको भन्दै उहाँले कसैले देखेमा प्रहरीलाई खबर गरेर आग्रह समेत गर्नुभयो । ‘फरार थुनुवा मध्ये एक जनालाई जनकपुरको जनक चोकबाट फेला पारेका छौं,’ डीएसपी अवाले भन्नुभयो, ‘अन्य ८ जना भागेको सम्भावित इलाकातर्फ खोजीकार्य जारी छ ।’ 

हिरासतमा रहेका जनकपुर–२० रुपैठाका अमितकुमार झा, धनुषा गिद्धा–५ का रंजित मण्डल र रोशनकुमार मण्डल, सिरहा–१३ का अभास्कर कुमार यादव, धनुषा देउरी परवाहा–४ का विशाल मुखिया, जनकपुर–१ का सुमित मेस्तर, नगराईन–२ का मनिष मण्डल र जनकपुर–४ का बिक्की कार्की फरार छन् ।

फरार भएका थुनुवाहरु लागूऔषध र अभद्र व्यवहारसँग सम्बन्धित छन् । जिल्ला प्रहरी कार्यालय धनुषामा दुई तल्ले आधुनिक हिरासत कक्ष छ । 

हिरासत कक्षको भुईँतलामा थुनुवाको सामूहिक कक्ष छ । हिरासत कक्षको माथिल्लो तल्ला महिला थुनुवा राखिन्छ । तल्लो र माथिल्लो दुबै तल्लामा सेन्ट्री (प्रहरी) बसेपनि एकैपटक ९ जना थुनुवा फरार भएका हुन् ।


प्रतिक्रिया