प्रधानमन्त्री ओली स्पेनको मड्रिडमा

असार १५, २०८२ | काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुने क्रममा स्पेनको मड्रिड पुग्नुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल काठमाडौंबाट कतारको दोहा हुँदै मड्रिड पुगेको हो । ओली आज साँझ सम्मेलनस्थल स्पेनको सेभिया पुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज र राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीको भ्रमण भएको हो । उहाँले स्पेनको औपचारिक भ्रमणका क्रममा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने कार्यक्रम रहेको छ । भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै, प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका छ ।