दाङमा दुई मोटरसाइकल ठोक्किदा एकको मृत्यु

चैत्र ९, २०८१ | दाङ

दाङमा शनिबार बिहान दुई वटा मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–६ गाइडहरका २२ वर्षीय विवेक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले बताउनुभयो । 

घोराहीबाट तुलसीपुरतर्फ जांदै गरेको रा ८ प ३४१ नम्बरको मोटरसाइकल र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा २ प ६१६३ नम्बरको मोटरसाइकल घोराही–१६, गुर्जे खोलामा ठोक्किएको थियो । 

दुर्घटनामा परी रा ८ प ३४१ नम्बरका मोटरसाइकल चालक सुवेदीको मृत्यु भएको हो । रा २ प ६१६३ नम्बरका मोटरसाइकल चालक घोराही–११ निवासी ३४ वर्षीय विनोद बस्नेत घाइते भएका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया