१४ स्थानमा आगजनी र ९ संस्था तथा कार्यालयमा तोडफोड

चैत्र १६, २०८१ | काठमाडौं

राजावादीले काठमाडौंमा हिजो गरेको प्रदर्शनका क्रममा १४ स्थानमा आगजनी र ९ संस्था तथा कार्यालयमा तोडफोड गरेका छन् । कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट उल्लेख्य मात्रामा लुटपाट भएको प्रहरीले जनाएको छ । 

पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकद्वारा काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शनका लागि पूर्वअनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा निजी सम्पत्ति, अस्पताल, संचारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायतका साधनमाथि हिंसात्मक तोडफोड, आगजनी लगायत अपराधिक घटना गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको हो । 

अमानवीय, अमर्यादित एवं गैरकानूनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याई कानुनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ । घटनामा संलग्न ५१ जना व्यक्तिलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरले जनाएको हो ।

घाइते हुनेमा नेपाल प्रहरीतर्फ ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते र दुई जनाको मृत्यु भएको जनाएको छ । उच्छृंखल आन्दोलनका क्रममा ९ सरकारी सवारी साधन र ६ वटा सरकारी÷निजी नखुलेको सवारी साधन तोडफोड र १४ निजी संस्था र भवनमा आगजनी गरिएको छ । 

प्रहरीका अनुसार अन्नपूर्ण कम्प्लेक्स, तीनकुने, मार्वल हाउस, तीनकुने, कोटेश्वर महादेवस्थान, कार्गोको कम्पाउण्डभित्र, कोटेश्वर गणेश चोक, भाटभटेनी नजिक सरकारी गाडीमा, जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र, समाजवादी पार्टी कार्यालय, रोयल रेस्टुरेन्ट, सिनामंगल र एरोम्याक्सको कार्यालय रहेको भवन, सिनामंगलमा आगजनी गरिएको छ ।

त्यसैगरी कान्तिपुर मिडिया हाउस, बानेश्वर, अन्नपूर्ण मिडिया हाउस, तीनकुने, केएमसी अस्पताल, सिनामंगल, सिनामंगलस्थित डीआईए अगाडि बन्दै रहेको नयाँ भवन, सिनामंगलमा रहेको नेपाल प्रहरीद्वारा जडित २ थान सीसीटीभी क्यामरा, प्रहरी बिट सिनामंगल, भत्केको पुल, प्रहरी प्रभाग कोटेश्वर, ट्राफिक प्रहरी प्रभाग कोटेश्वर र समाजवादी पार्टी कार्यालय, बागमती करिडोरमा तोडफोड गरिएको छ ।


प्रतिक्रिया