काठमाडौंको तीनकुने र कोटेश्वर क्षेत्रमा व्यापक तोडफोड र आगजनी

चैत्र १५, २०८१
राजतन्त्र पुर्नस्थापनाका लागि भन्दै आन्दोलनमा उत्रिएका राजावादी प्रदर्शनकारीले काठमाडौंको तीनकुने र कोटेश्वर क्षेत्रमा व्यापक तोडफोड र आगजनी गरेका छन् । तीनकुनेको चौरमा आयोजित सभाका लागि जम्मा भएका प्रदर्शनकारी प्रहरीको सुरक्षा घेरा तोडेर अघि बढ्न खोजिएपछि तनाव शुरु भएको थियो । प्रहरी र प्रदर्शनकारीबीचको झडपले तीनकुने क्षेत्र दिनभर जसो तनावग्रस्त भयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो ।
त्यस्तै, रबरको गोली प्रहार गर्दै हवाइ फायर समेत गरिएको थियो । प्रदर्शनकारीले अराजक गतिविधि गर्दै निजी भवन, कार्यालय र भौतिक संरचनामा तोडफोड र आगजनी गरेका थिए । उनीहरुले तीनकुने नजिकैको एक घरमा लगाएको आगो केही घण्टापछि नियन्त्रणमा लिइएको थियो । राजावादी प्रदर्शनकारीले आलोकनगरस्थित एकीकृत समाजवादीको मुख्य कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । पेरिसडाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा समेत आक्रमणको प्रयास भएको थियो । त्यस्तै, कोटेश्वरको भाटभटेनी सुपर मार्केटमा तोडफोड भएको प्रहरीले जनाएको छ ।
प्रदर्शनमा आएका केही व्यक्तिले सुपर मार्केटबाट केही सामाग्री समेत लुटेर लगेका छन् । विहान ११ बजेका लागि निर्धारित राजावादीको सभा प्रहरी र प्रदर्शनकारीको झडपका कारण विथोलिएको थियो । सभा विथोलिएपछि राजावादी दल र समूहका नेताहरु तितरवितर भएका थिए । आन्दोलनका अगुवा गरेका दुर्गा प्रसाईका गाडी सुरक्षाकर्मीलाई छिचोलेर वानेश्वर तर्फ लैजान खोजेपछि दुई पक्षबीच झडप भएको थियो । प्रदर्शनकारीले प्रहरीमाथि पनि ढुंगामुढा गरेका छन् । झडपका क्रममा प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । तर घाइते हुनेको संख्या यकिन भएको छैन ।