“स्टायलिस” गायक भीम तुलाधर सम्मानित

वैशाख २७, २०८२ | काठमाडौं

चालिसको दशकमा “स्टायलिस” गायकका रुपमा प्रख्यात भीम तुलाधरलाई रेडियो कान्तिपुरले सलाम ज्यूँदो इतिहासलाई कार्यक्रमको नयाँ श्रृखलामा शनिबार सम्मान गरेको छ । कालो चस्मा, कालै पहिरन र घुम्रिएको कालो लामो कपालमा ठाँटिने तुलाधर यस्ता पप गायक हुन जसले तत्कालीन समयमा लामो कपाल राख्न प्रहरी प्रशासनबाट लिखित अनुमति नै लिए । शनिबार रेडियो कान्तिपुरमा आयोजित कार्यक्रममा उनले भने, “त्यतिबेला लामो कपाल हुनेलाई प्रहरीले समाएर कपाल काटिन्थ्यो । मैले गायक भएकाले कपाल पाल्ने अनुमति पाऊँ भनेर निवेदन दिएँ । प्रहरीको अनुमति पनि पाएँ तर त्यो कहिल्यै देखाउन परेन ।”

संगीतबाट झण्डैझण्डै विश्राम लिइसकेको व्यक्तिलाई विशेष कार्यक्रममार्फत् सम्मान गरेको भन्दै उनले रेडियोलाई धन्यवाद दिए । गायन शुरु गर्नुअघि नै भीम तुलाधरले अन्नपूर्ण क्यासेट सेन्टर खोलेर संगीत व्यवसायमा पाइला चालिसकेका थिए । ४० सालमा भीमले साथीहरुसँग मिलेर ब्याण्ड खोले– द ईन्फ्लुयन्स । ४१ को अन्त्यतिर सोही समूहले पहिलो एल्बम निकाल्यो मायालुलाई । ४४ सालमा दोस्रो एल्बम सपनीमा सार्वजनिक गरेपछि द ईन्फ्लुयन्सका सदस्यहरु तितरबितर भए । त्यसपछि कन्र्सटमा एक्लै गाउने मात्रै हैन भीम तुलाधरले एल्बम पनि एकल निकाल्न थाले । ५६ सालमा ’सम्झना’ एल्बम निकाल्दासम्म उनले ७ वटा सोलो र ३ वटा कलेक्सन एल्बमा स्वर दिइसेका थिए । त्यसको डेढ दशकपछि ७१ सालमा उनले अर्को एल्बम निकाले जसको नाम अन्तराल राखियो । उनले भने, “स्रोताको रुची, संगीत बजारको अवस्था जस्ता विषयको अध्ययन गर्दा गर्दै १५ वर्ष बितेको पत्तै भएन । त्यहि कारण एल्बमको नाम ‘अन्तराल’ राखेँ ।” एल्बम नल्याएपनि विभिन्न स्टेजमा गाउने क्रम भने जारी नै रहेको उनले सुनाए ।

उनी चाँडै नै नयाँ गीतहरु मार्फत् नयाँ पुस्तासँग जोडिने क्रममा छन् । भन्छन्, “म हराएको हैन । समय मिलाउन नसकेर मात्रै हो । छिट्टै नयाँ गीतहरु लिएर आउँछु ।” कुनै समय एकै दिन ब्याण्डसँग मिलेर ८ वटा गीत रेकर्ड गराएको किस्सा सुनाउँदै उनले भने, “म्युजिक नेपालको एउटा सानो स्टुडियोमा पहिलो एल्बम निकाल्दा हामीले जस्तो जोश निकालेका थियौं त्यस्तै जोशका साथ नयाँ गीत लिएर आउने धोको छ।”

सलाम ज्यूँदो इतिहासलाई कार्यक्रममा तुलाधरका चर्चित गीतहरु अँगालो अँगालोमा, माया देऊ माया गर, मेरी त घरकी आमालाई, जब तिमी नै पराई भैदियौ लगायतका गीतहरु गायकहरु रविन महर्जन, सुवास मण्डल र दिनेश महर्जनले प्रस्तुत गरेका थिए । नयाँ पुस्ताले पनि आप्mना गीतहरुलाई मन पराएर गाउँदा खुसी मिलेको तुलाधरले प्रतिक्रिया दिए ।

रेडियो कान्तिपुरले हरेक महिनाको अन्तिम शनिबार सलाम ज्यूँदो इतिहासलाई कार्यक्रम सञ्चालन गरेर कला, साहित्य र गीत सङ्गीतका पुराना पुस्तालाई सम्मान गर्दै आएको छ । 


प्रतिक्रिया