मुलुक भरको मौसममा आंशिक बदली हुने

जेष्ठ ९, २०८२ | काठमाडौं
पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण आज मुलुक भरको मौसममा आंशिक बदली हुनेछ ।
बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण केही भूभागमा आज वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने महाशाखाको अनुमान छ ।
तर कोशीसहित केही प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भने मेघगर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ ।
आज राति कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।