सक्रिय राजनीतिमा फर्किने चर्चाकाबीच पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणमा जाँदै

जेष्ठ ९, २०८२

सक्रिय राजनीतिमा फर्किने चर्चाका माझ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेका केही नेतासहित उत्तरी छिमेकी चीनको भ्रमणमा जाने हुनुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ सरकारको मैत्रीपूर्ण निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी भोलि चीन जान लाग्नुभएको हो ।

 एमालेका सचिव एवम् विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्थायी कमिटी सदस्य कर्ण थापा, सांसद देवी भट्टचनसहितको टोली भोलि साँझ चीन जाने तय भएको छ ।

 भ्रमणका क्रममा भण्डारी द्विपक्षीय राजनीतिक भेटघाट र संवादमा सहभागी हुने बताइएको छ । भ्रमणको तालिका भने सार्वजनिक गरिएको छैन । पूर्वराष्ट्रपति भण्डारीसहितको टोली जेठ १९ गते स्वदेश फर्किने एमाले सचिव महासेठले जानकारी दिनुभयो ।

 एमालेका पदाधिकारी तहका नेतासहित भण्डारी राष्ट्रपतिको कार्यकाल सकिएपछि पहिलो पटक विदेश भ्रमणमा जान लाग्नुभएको हो । पार्टी राजनीतिमा फर्किने तयारी गरेकी भण्डारीको चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ । भ्रमण टोलीमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीसँगको सहमतिपछि पूर्वराष्ट्रपति भण्डारी उत्तरी छिमेकको भ्रमणमा जाने तय भएको हो ।  


प्रतिक्रिया