सगरमाथा आरोहणका लागि ४६८ जनाले लिए अनुमति

जेष्ठ ९, २०८२ | काठमाडौं
सगरमाथा आरोहणका लागि यो सिजनको हालसम्म ४ सय ६८ जनाले अनुमति लिएका छन् ।
विभिन्न ५७ वटा देशका ४७ वटा टोलीले सगरमाथा आरोहणको अनुमति लिएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनु भयो ।
जसमा ३ सय ८२ जना पुरुष तथा ८६ जना महिला रहेका छन् ।
सगरमाथा आरोहणबाट यो सिजनमा ६९ करोड १२ लाख ७१ हजार १ सय ८१ रुपैया रोयल्टी संकलन भएको छ ।
गत वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४ सय २१ जनाले अनुमति लिएका थिए । यो वर्ष सो संख्या बढेर ४ सय ६८ पुगेको हो ।
सगरमाथा मात्रै होइन अन्य हिमाल आरोहणको अनुमति लिनेको संख्या पनि बढेको छ ।
यो सिजनमा आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा बढी भारतका १ सय ६७ जना रहेको विभागले जनाएको छ ।