एनभीए भलिबल लिगमा महिलातर्फ पुलिस क्लबको लगातार चौंथो जित

जेष्ठ १२, २०८२ | काठमाडौं

साविक विजेता नेपाल पुलिस क्लबले एनभिए भलिबल लिगको महिलातर्फ लगातार चौंथो जित निकालेको छ । आज भएको खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा हरायो । जितबाट २ अंक जोडेको पुलिस ११ अंकसहित शीर्षस्थानमा कायमै रहेको छ । ५ सेटमा पुगेको खेलमा आर्मीले १ अंक जोडेपनि लिग चरणबाट बाहिरिएको छ ।

आर्मीले ४ खेलमा १ अंक मात्र बनाएको छ । आर्मीले एक खेल पनि जित्न सकेको छैन् । सहभागी ६ टोली मध्ये आर्मीसँगै कर्णाली प्रदेशपनि लिग चरणबाट बाहिरिएको छ । पुलिस, टिप टप न्यु डायमण्ड स्पोर्टस, नेपाल एपिएफ क्लब र एभरेष्ट शीर्ष ४ मा छन् । महिलातर्फ कै अर्को खेलमा एभरेष्टले कर्णालीलाई ३–० को सोझो सेटमा हरायो । न्यु डायमण्ड ९ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको एपिएफ र चौथो स्थानको एभरेष्टको समान ६ अंक छ ।

यसैबीच, पुरुषतर्फ गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै पाँचौं जित दर्ता गरेको छ । जितसँगै ५ खेलबाट १५ अंकसहित गण्डकी शीर्षस्थानमा उक्लियो । एक खेल कम खेलेको हेल्प नेपालको १२ अंक छ । अर्को खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ३–१ ले हरायो । पहिलो सेट २१–२५ ले गुमाएको आर्मीले उत्कृष्ट कमब्याक गर्दै जित निकालेको हो । पाँचौं खेलबाट तीन जित सहित आर्मीले ८ अंक बनाएको छ । चौथो हार व्यहोरेको कोशीको ३ अंक छ । 


प्रतिक्रिया