बागमती प्रदेशमा १० लाख बढीको योजना टेण्डरबाट कार्यान्वयन हुने

भाद्र २१, २०८२ | काठमाडौं
बाग्मती प्रदेश सरकारले दशलाख रुपैयाँ वा सोभन्दा बढी बजेटका योजना टेण्डर प्रक्रियामार्फत् कार्यान्वयन गर्ने भएको छ ।
चालु आर्थिक वर्ष २०८२÷०८३ को विनियोजन विधेयकमा उपभोक्ता समितिमार्फत् काम गर्ने उद्देश्यले मन्त्रालयले धेरै टुक्रे बजेट ल्याएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले टेण्डर प्रक्रियामार्फत् योजनाहरु कार्यान्वयन गर्ने भएको हो ।
मन्त्रिपरिषद्को वैठकले १० लाखमाथिका योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो ।
यसैबीच मन्त्रिपरिषद्को वैठकले विभिन्न ५ वटा मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गरेको छ । त्यस्तै, हेटौंडा–१७ स्थित हर्नामाडीमा प्रादेशिक संरचनाको भवन निर्माणका लागि रुख कटान गर्न अनुमानित ४ करोड रुपैयाँकोे स्रोत सुनिश्चित भएको हाम्रा सहकर्मीले जनाएका छन् ।