भरतपुर महानगरका तत्कालीन इन्जिनियरविरुद्ध ६ करोड बढि भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर
माघ १३, २०८२ | काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर महानगरका तत्कालीन इन्जिनियर भरतकुमार आचार्यविरुद्ध ६ करोड बढि भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ । सार्वजनिक ओहदाको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले आज आचार्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आचार्यविरुद्ध ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवानमा, कैद सजाय र भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफतको मागदाबी लिइएको छ ।
पदीय मर्यादाविपरीत कार्यबाट गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा आचार्यविरुद्ध अख्तियारमा उजुरी परेको थियो । अनुसन्धानका क्रममा आचार्यको स्रोत नखुलेको सम्पत्ति भेटिएपछि त्यसैलाई बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले विशेष अदालतमा दायर गरिएको उल्लेख छ । आचार्यको २०४८ माघ ६ देखि २०८० असार ६ सम्मको सम्पत्तिमा जाँचबुझ गर्दा आयभन्दा व्यय रकम बढी देखिएको भेटिएको अख्तियारले दाबी गरेको छ ।











