सुपर दोर्दी जलविद्युत ‘ख’ मा स्थानीयको २५ करोड लगानी

वैशाख ५, २०७६ | लमजुङ

लमजुङको दोर्दीखोलामा निर्माणाधिन ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत आयोजना ‘ख’ मा लमजुङका स्थानीयले २५ करोड रुपैयाँ लगानी गरेका छन् । स्थानीयले सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी मार्फत आयोजनामा शेयर लगानी गरेका हुन् ।

इन्भेष्टमेन्ट कम्पनीले ५ वर्षमा करीब २५ करोड रुपैयाँ संकलन गरेर सुपर दोर्दी जलविद्युत आयोजना ‘ख’ मा लगानी गरेको छ । इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष इजनकुमार बरालका अनुसार कम्पनीले आफैं आयोजनाको निर्माण नगर्ने भएकाले पिपुल्स हाइड्रोपावरद्धारा निर्माणाधिन आयोजनामा लगानी गरेको बताउनुभयो ।

उहाँका अनुसार आयोजनामा प्रवर्द्धकको स्वलगानी (इक्वीटी) पुँजी ३० प्रतिशत अर्थात २ अर्ब ५० करोड रुपैयाँ रहेकोमा यसको १० प्रतिशत अर्थात २५ करोड रुपैयाँ जिल्लाबासीले लगानी गरेका छन् । आयोजना साँढे ८ अर्बको रुपैयाँमा निर्माण हुन लागेको हो । नविल बैंकको नेतृत्वमा ९ वटा बैंकले ७० प्रतिशत लगानी गर्ने छ । यो आयोजना सत प्रतिशत स्वदेशी लगानीमा निर्माण हुन लागेको हो । इन्भेष्टमेन्ट कम्पनीमार्फत जिल्लाका ९ सय १० जनाले आयोजना निर्माणमा लगानी गरेका इन्भेष्टमेन्टका अध्यक्ष बरालले बताउनुभयो ।

पिपुल्स हाइड्रोपावर कम्पनी प्रा.लि. चालु आर्थिक बर्षबाट लिमिटेडमा गईसकेकाले सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीलाई उक्त कम्पनीमा गाभ्ने तयारी गरिएको छ । इन्भेष्टमेन्ट कम्पनीका सबै शेयरधनी महानुभावलाई प्रत्यक्ष रुपमा मूल कम्पनीको शेयरधनी बनाएर आयोजनाबाट प्राप्त हुने प्रतिफल उपलब्ध गराउने कार्यमा दुबै कम्पनीको बीचमा सम्झौता भएको इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष बरालले बताउनुभयो । उहाँका अनुसार दुबै पक्षबीच गरिएको सम्झौताको कानूनी मान्यता दिने प्रक्रियामा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कम्पनी गाभिएपछि स्थानीयले लगानी गरेको शेयर र प्रवर्द्धकको शेयरको भ्यालु एउटै हुनेछ ।’ 

आयोजनाका प्रवर्द्धक पिपुल्स हाइड्रोपावरका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीका अनुसरा २०७७ असार मसान्त सम्ममा आयोजनाले कमर्शियल अप्रेशन (ब्यवसायिक उत्पादन) गर्नेछ । यसअघि व्यवसायिक उत्पादन मिति ०७६ भदौ मसान्त तोकिएकोमा भूकम्प र नाकाबन्दीका कारण आयोजना निर्माण प्रभावित हुँदा व्यवसायिक उत्पादन मिति सरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी तोकिएको समयमा आयोजनाको निर्माण सक्छौं ।’ 

पूर्व सांसद् जमीन्द्रमान घलेले जिल्लामा लगानीमैत्री वातावरण रहेकाले प्राकृतिक प्रकोपले बनाएको असहज परिस्थिति बाहेक जलविद्युत निर्माणले गति लिएको बताउनुभयो । ‘जलविद्युतबाट समृद्धि र विकास सम्भव भएको उहाँको भनाई छ । आयोजनाका प्रोजेक्ट डाइरेक्टर अर्जुनप्रसाद गौतमले आयोजनाको निर्माणकार्य तीब्र रुपमा अघि बढेको बताउनुभयो । विद्युत उत्पादनका लागि ७ किलोमिटर भूमिगत सुरुङ निर्माण हुनेछ ।

कुल ९ हजार २ सय ७८ मिटर सुरुङ मध्ये ५ हजार २ सय २९ मिटर सुरुङ खनिसकेको आयोजनाले जनाएको छ । सुरुङ खन्ने कार्य ५६ प्रतिशत सकिएको छ । हाइड्रो मेकानिकलको टेण्डर लागिकेको र अप्रिल महिनाभित्र छनौट भइसक्ने र इलेक्ट्रोमेकानिकलको टेण्डर आव्हान गरि मुल्याङ्कन गरि हस्ताक्षरको अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

दोर्दी गाउँपालिका ६ ढोडेनी र ७ फलेनीको बीच भएर बग्ने दोर्दी खोलामा निर्माण भइरहेको सो अयोजनाको ०७१ फागुन २० गते विद्युत प्राधिकरणसँग चलन चल्तीको दरमा विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको थियो । सो आयोजनाको बाँध ढोडेनीको तुम्सीमा रहनेछ ।

७ किलोमिटर लामो भूमिगत सुरुङमा पनेस्टक पाइप मार्फत पानी ल्याएर ढोडेनीको ताँजे गाउँ नजिकै लोँदो र दोदीखोलाको तीरमा भूमिगत विद्युत गृह निर्माण गरी विद्युत उत्पादन गरिने छ । नदीको बहाबमा आधारित आयोजनाको ग्रस हेड ६ सय ४० मीटरको हुने छ । आयोजनाले बार्षिक २८ करोड ६४ लाख युनिट विद्युत उत्पादन गर्नेछ ।


प्रतिक्रिया