उत्पादन घटेपनि मूल्य वृद्धिले किसान र व्यापारी उत्साहित

वैशाख ६, २०७६ | सुनसरी

यो वर्ष कोशी करिडोरका पहाडी भेगमा अम्रिसो (कुचो) को उत्पादन गत वर्षको तुलनामा ३० प्रतिशत कम उत्पादन भएपछि किसान र व्यापारीहरु निराश बनेका थिए । तर उनीहरुको निराशा लामो समय रहेन । भारतीय बजारमा अम्रिसोको माग बढेसँगै गत वर्षको तुलनामा ११५ प्रतिशत बढी मूल्य वृद्धि भएपछि उनीहरुको निराशा खुशीमा बदलियो ।

अम्रिसोको सिजन जेठसम्म हो । पूर्वी पहाडमा उत्पादित अम्रिसोका कुचो मध्ये १० प्रतिशत मात्र स्थानीय बजारमा खपत हुन्छ । बाँकी ९० प्रतिशत सबै भारतीय बजारमा निर्यात हुने गरेको छ । यो वर्ष करीब ३० लाख रुपैयाँको अम्रिसोको कारोबार गरेका कृषि उपज बजारका व्यापारी बेलेन्द्र राईले भने, ‘यो वर्ष कुचोबाट नसोचेको फाइदा भयो । यो फाइदा किसान र व्यापारीलाई भएको छ । नेपालको अम्रिसोको माग भारतीय बजारका उपभोक्ताको मागमा भर पर्छ ।’

गत माघमा कुचोको सिजन सुरु भएको बेला प्रतिकिलो ३० रुपैयाँ देखि ३२ रुपैयाँ मात्र थियो । पहाडमा पानी कम परेकाले उत्पादन पनि कम र मूल्य पनि कम भएपछि  किसानहरु निकै निराश थिए । धरानस्थित कृषि उपज बजार व्यवस्थापक लक्ष्मण भट्टराईले भन्नुभयो, ‘तर भारतीय बजारमा यसको माग बढेसंगै चैत महिनाबाट मूल्य ह्वात्तै बढेर प्रति किलो ७० रुपैयाँ सम्म पुगेकाले कृषक र व्यापारी हर्षित छन् ।’

भट्टराईका अनुसार यस वर्ष धरानको कृषि बजारमा अम्रिसो कुचोको होलसेल कारोबार ३० करोड रुपैयाँ बराबरको ४ हजार ५ सय मेट्रिक टन हुने अनुमान गरिएको छ । हालसम्म करीब ३ हजार ५ सय मेट्रिक टन कुचोको कारोबार भइसकेको भट्टराईले बताउनुभयो । 

गत वर्ष ४ हजार २ सय ६० मेट्रिक टन कारोबार हुँदा औसत मूल्य प्रतिकिलो ३० रुपैयाँ मात्र भएकाले १४ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो । अघिल्लो वर्ष १८ करोड रुपैयाँ बराबरको कुचोको कारोबार भएको थियो । कोशी करिडोरका पहाडी जिल्लाहरु सुनसरीको विष्णुपादुका, मोरको उत्तरी क्षेत्र, धनकुटा, तेह्रथूम, भोजपुर, संखुवासभा र खोटाङ्ग, उदयपुर, पाँचथरबाट धरानको कृषि उपज बजारमा बिक्रीका लागि कुचो ल्याउने गरिएको छ ।  

भट्टराईले भन्नुभयो, ‘अम्रिसो डाँडा पाखामा पनि हुने र मेहेनत पनि कम हुने भएकोले यसको खेती गर्न कृषकहरुले चासो देखाएको पाईन्छ तर भारतीय बजारमा निर्यात सहजै नहुने हो भने स्थानीय बजारमा खपत हुँदैन र मूल्य पाउदैनन् । यो वर्ष किसान र व्यापारीका लागि भाग्यशाली वर्ष भयो ।’ उहाँले कृषकलाई खेर गएको डाँडापाखामा अम्रिसो खेती गर्न प्रोत्साहित गर्दै भारतीय बजारमा निर्यात सहजीकरण गर्न सकेमा पूर्वी पहाडका अम्रिसो किसान र व्यापारीले वर्षमा कम्तिमा ६० करोड रुपैयाँ विदेशी मुद्रा भित्रने सम्भावना देखिएको उहाँले बताउनुभयो । 

हालसम्म किसानहरुले घर आसपासका डिल, कान्लाहरुमा अरु खेतीसँगै अम्रिसो खेती परम्परागत रुपमा गर्दै आएका छन् । नेपालमा उत्पादनको १० प्रतिशतमात्र खपत हुने भएकाले कुनै पनि बेला भारतले अदुवा रोके जस्तै नेपालको अम्रिसो निर्यातमा रोकिदिन सक्ने भय र त्रासकाबीच किसानहरु अनुमानकै भरमा खेती गर्दै आएका छन् ।


प्रतिक्रिया