कम पोषकयुक्त मल किन्न बाध्य पार्दै साल्ट ट्रेडिङ

असार ९, २०७६ | बुटवल

धान खेततीका लागि डीएपी, युरिया र पोटास आवश्यक पर्छ । डीएपी र युरिया भन्दा सिंगल सुपर सल्फेट र एल्मुनियम सल्फेट गुणस्तर र पोषकतत्व कम छ । मात्राका हिसाबले दोब्बर बढी राख्नुपर्छ ।

तर साल्ट ट्रेडिङ कर्पोरेशन क्षेत्रीय कार्यालय भैरहवाले उस्तै हो भनेर सिंगल सुपर सल्फेट र एल्मुनियम सल्फेट बिक्री गर्दै आएको छ । मल किन्न जाने जो कोहीले ५० प्रतिशत उक्त मल किन्नै पर्छ । यसले किसानहरु मारमा परेका छन् ।  

विज्ञहरुका अनुसार डीएपीमा नाइट्रोजन १८ र फोस्पोरसको मात्रा ४६ हुन्छ । सिंगल सुपर सल्फेटमा भने फोस्पोरस १६, सुपर ११ र क्याल्सिमको मात्रा २१ हुन्छ । त्यस्तै, एल्मुनियम सल्फेटमा नाइट्रोजनको मात्रा युरियामा भन्दा आधा कम छ । तर साल्ट ट्रेडिङका प्रमुख हरिचन्द्र श्रेष्ठले मात्र धेरै राख्नुपरे पनि डीएपी र युरिया भन्दा यसले माटोलाई सन्तुलनमा राख्न धेरै मद्दत गर्ने दाबी गर्नुभयो ।

किसानले मल नै नपाउनु भन्दा यसबाट अभाव मेट्न सरकारको अनुमतिमै यस्तो मल बिक्री गर्ने गरेको उहाँको भनाइ छ । नवलपरासीदेखि पश्चिमका कञ्चनपुर जिल्ला सम्ममा भैरहवाबाट मल आपूर्ति हुन्छ । अनुदानको मल आपूर्ति गर्ने जिम्मा कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन क्षेत्रीय कार्यालय भैरहवाले पाएका छन् ।

यस्तोमा साल्ट ट्रेडिङले तीन वर्षदेखि अनुदानको मलसंगै गैर अनुदानको मल बिक्री गर्दै आएको हो । मल अभाव बढेकाले सरकारकै स्वीकृतिमा यस्तो मल बेचेको कार्यालयको दाबी छ । कृषि विभागको तथ्यांक अनुसार नेपालमा प्रति वर्ष ७ लाख मेट्रिक टन मल आवश्यक पर्छ । तर सरकारले अनुदानको मल आधा भन्दा कम खरिद गर्ने गरेको छ ।


प्रतिक्रिया