डीएसपी हुँ भन्दै ठगी गर्ने एक पक्राउ

जेष्ठ ८, २०७७ | काठमाडौं

आफूलाई सशस्त्र प्रहरी नायव उपरीक्षक बताउँने एक ब्यक्ति विभिन्न आपराधिक घटनामा संलग्न रहेको खुलेको छ । काठमाडौको तारकेश्वर नगरपालिका–बालाजु घर भई जग्गा दालाली गर्ने ४५ वर्षीय राजकुमार चापागाई पेप्सीकोलाबाट पक्राउ परेसँगै उनका कर्तुत खुलेका हुन् । 

महानगरीय अपराध महाशाखका अनुसार स्वास्थ्य मन्त्रालयको खरिदार, रिसेप्सनिष्ट, सहायक लेखापाल जस्ता महत्वपुर्ण पदमा जागिर लगाई दिन्छु भनी उनले विभिन्न ब्यक्तिलाई प्रलोभनमा पारी १ लाख ८५ हजार रुपैयाँ ठगी गरेको खुलेको छ । 

प्रहरीका अनुसार चापागाई ठगी मुद्दामा ४ वर्ष कैद भुक्तान गरी रिहा भएका ब्यक्ति समेत हुन् । महाशाखाका एसपी इश्वर कार्कीका अनुसार चापागाईको साथबाट रामबहादुर थापा नामको सशस्त्र प्रहरी नायव उपरीक्षकको नक्कली परिचय पत्र १ थान, खरिदार पदको नक्कली परिचय पत्र २ थान पनि बरामद गरेको छ ।      


प्रतिक्रिया