हत्या अभियोगमा वडा अध्यक्ष सहित चार जना पक्राउ

माघ १४, २०७७ | बझाङ

बझाङको छविस पाथिभेरा गाउँपालिका–३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा वडा अध्यक्ष सहित चार जना पक्राउ परेका छन् । सिंहको मंगलबार राति खुँडा प्रहार गरी हत्या भएको थियो । २३ वर्षीय सिंह नेपाल तरुण दल छविस पाथीभेरा गाउँपालिकाका सदस्य हुन् । 

पक्राउ पर्नेमा छविस पाथीभेरा गाउँपालिका–२ का वडा अध्यक्ष विकास ऐडी, प्रकाश ऐडी, केदार ऐडी र ज्ञान बहादुर कठायत रहेका छन् । वडाध्यक्ष विकास ऐडीले प्रयोग गर्दै आएको से १ प ७६१ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरीले मोटरसाइकल सहित वडाअध्यक्ष ऐडीलाई सदरमुकाम चैनपुरको एक होटलबाट मंगलबार राति नै पक्राउ गरेको थियो । ज्ञान बहादुर कठायतलाई मंगलबार नै घटना स्थलबाट स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

हत्या अभियोगमा प्रकाश र केदारलाई थलारा गाउँपालिका–३, को जाम्बाँझ गाउँबाट बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी रुपक खड्काले बताउनुभयो । हत्यामा संलग्न रहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको भन्दै उहाँले थप अनुसन्धान भईरहेको जानकारी दिनुभयो ।

यसैबीच, हत्यारालाई कारबाहीको माग गर्दै सदरमुकाम चैनपुरमा मृतकका आफन्तले प्रदर्शन गरेका छन् । प्रर्दशनकारीले नारा जुलुस गर्दै सदरमुकाम भित्र चल्ने यातायात समेत बन्द गराएका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयको मुल गेटमा टायर बालेर हत्यारालाई कडा कारबाही हुनु पर्ने माग गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति पृथ्वी बहादुर सिंहले राजनीतिक आवरणमा भएको हत्याको घटनामा संलग्नलाई उम्काउन प्रयास हुने आशंका व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘सत्ता र शक्ति प्रयोग गरेर अपराधीलाई उम्काउने प्रयास हुन सक्छ । यसमा हामीले निरन्तर खबरदारी गर्नै पर्छ ।’ 

मंगलबार दिउँसो छविस पाथीभेरा गाउँपालिकास्थित बान्नीचौर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा कांग्रेस समर्थक उम्मेदवार विजयी भएको आक्रोसमा नेकपाका समर्थकहरुले सिंहमाथि साँझ ७ बजे तिर खुँडा प्रहार गरेका थिए । सिंहको घटनास्थलमा नै मृत्यु भएको थियो । उनको शव जिल्ला अस्पताल सिमखेतमा राखिएको छ ।


प्रतिक्रिया