संस्कृतिविद चटौतको ‘आरडी प्रभास अभिनन्दन’ ग्रन्थ लोकार्पण

जेष्ठ २१, २०८० | काठमाडौं

इतिहासकार एवं संस्कृतिविद प्राज्ञ आरडी प्रभास चटौतको जीवनी समावेश भएको ‘आरडी प्रभास अभिनन्दन’ ग्रन्थको लोकार्पण गरिएको छ ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरको प्रमुख आतिथ्यतामा ‘आरडी प्रभास अभिनन्दन’ ग्रन्थको हिजो लोकार्पण गरिएको हो ।

एन डी प्रकाश चटौत स्मृति प्रतिष्ठानद्धारा प्रकाशित ग्रन्थमा स्वदेश र विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुद्धारा लिखित आरडी प्रभास चटौत सम्वद्ध १ सय ७८ वटा रचना समावेश गरिएको छ ।

निजामती सेवामा ३ दशक योगदान गरेका चटौतले शैक्षिक सुधारका लागि समेत महत्वपूर्ण योगदान गरेका छन् । डडेल्धुरामा सलह किराबाट खेतीपाती नष्ट भएपछि सानै उमेरमा उनले कृषकको बेदना र जागरण समेटिएको सलह नामक कविता कृति ल्याएका थिए ।

चटौतको प्रयासमा डोच्याली भाषाले आईएसओ मान्यता प्राप्त गरेको थियो भने उनको लोकप्रिय कृति डोच्याली वृहत शब्दकोषलाई स्पेनको ओभिडो विश्वविद्यालयका जुवान लाजोले पीएचडीको थेसिसमा मुल आधार बनाएका थिए । 

चटौतले भारतका विभिन्न विश्वविद्यालयबाट शास्त्रीय अध्ययन, अङग्रेजी, संस्कृत र हिन्दी साहित्यमा स्नातक गर्नुका साथै त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर एव कानुन विषयमा स्नातक गरेका छन् ।


प्रतिक्रिया