कुशल मल्लको कीर्तिमानी शतकमा ओमानलाई नेपालको ३ सय ११ रनको विशाल लक्ष्य
वैशाख ८, २०८० | काठमाडौं
युवा अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतकमा नेपालले एसिसी मेन्स प्रिमियर कप क्रिकेटमा ओमानलाई ३ सय ११ रनको विशाल लक्ष्य दिएको छ ।
यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको हालसम्मकै उच्च योगफल हो । यसअघि नेपालले ओडिआईमा उच्च योगफल अघिल्लो महिना आईसीसी विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध २ सय ९७ रन बनाएको थियो ।
घरेलु मैदानमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ३ सय १० रन बनायो । नेपालका लागि कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्कासहित १ सय ८ रनको विष्फोटक शतकीय इनिङ्स खेले । कुशलले ५९ बलमा आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक प्रहार गरे ।
उनी नेपालबाट ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी समेत बनेका छन् । कुशलले कप्तान रोहित पौडेलको कीर्तिमान तोडेका हुन् । रोहितले यसअघि २०२२ मा पपुवा न्युगिनीविरुद्ध ९१ बलमा हानेको शतकको कीर्तिमान तोडेका हुन् ।
समग्रमा उनी ओडिआईमा नेपालबाट शतक हान्ने छैटौं खेलाडी बनेका छन् । यस्तै, सोमपाल कामीले ओडिआई करिअरको दोस्रो अर्धशतक पूरा गरे । सोमपाल कामी ४८ बलमा ९ चौकासहित ६३ रनमा नटआउट रहे । सोमपालको यो अन्तर्राष्ट्रिय कुनैपनि खेलको उच्च प्रदर्शन हो । करण केसी १५ बलमा २ चौका र १ छक्कासहित २९ रनमा २९ रनमा नटआउट रहे ।
खराब सुरुवात गरेको नेपालले २८ औं बलमा पहिलो रन जोडेको थियो । नेपालका ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेख बिना रन पबेलियन फिर्किए । कप्तान रोहित पौडेल २३, भिम सार्कि ३३, आरिफ शेख २९, दिपेन्द्र सिंश ऐरी ७, सन्दिप लामिछाने ८ रनमा आउट भए ।