नेपाल सुपर लिगमा झापा र चितवन भिड्दै

चैत्र २४, २०८१ | काठमाडौं
नेपाल सुपर लिग फुटबलमा एफसी चितवनले आज झापा एफसीको सामना गर्ने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंशगालामा साँझ ६ बजे चितवन र झापा आमनेसामने हुनेछन् ।
अंक तालिकाको शीर्ष स्थानमा रहेको चितवन आफ्नो अपराजित यात्रा कायम राख्ने योजनामा हुनेछ । यसअघिका दुबै खेलमा जित हात पार्दै चितवनले ६ अंक जोडेको छ ।
चितवनले आफ्नो पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० र दोस्रो खेलमा बुटवल लुम्बिनीलाई १–० गोलले हराएको थियो । लगातार दुई खेलमा जित हात पारेको चितवनको मनोबल उच्च छ ।
झापा भने आफ्नो तेस्रो खेलमा पहिलो जितको खोजीमा हुनेछ । झापाले यसअघिका दुबै खेलमा कुनै गोल गर्न सकेको छैन । झापाले आफ्नो पहिलो खेलमा बुटवल लुम्बिनीसँग गोलरहित बराबरी खेलेको थियो ।
दोस्रो खेलमा पनि झापा काठमाडौं रेजर्ससँग गोलरहित बराबरीमा रोकिएको थियो । झापा २ अंकका साथ लिग तालिकाको पाँचौं स्थानमा छ ।