शीर्ष स्थानको चर्च ब्वाइजको सहज जित

जेष्ठ १६, २०८०

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेडले एपीएफ क्लबमाथि सहज जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले एपीएफ क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । 

चर्च ब्वाइजको जितमा अनन्त तामाङले दुई गोल गरे । मौषम सुब्बा र आशिष चौधरीले एक/एक गोल थपे । एपीएफका आवाश लामिछानेले एक गोल फर्काए । यो जितपछि चर्च ब्वाइजले २३ खेलमा ४१ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । चर्च ब्वाइजले दोस्रो स्थानको जावलाखेल युथ क्लबविरुद्ध ४ अंकको अग्रता बनाएको छ । पराजित एपीएफ भने २३ खेलमा २९ अंक जोडेर तालिकाको छैटौं स्थानमा रहेको छ ।

आजै भएको अर्को खेलमा जावलाखेलले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेलले आर्मीलाई २–० गोल अन्तरले हराएको हो । जावलाखेलका लागि दुवै गोल एनकोटी मोसोबीले गरे । यस जितसँगै जावलाखेल २३ खेलबाट ३६ अकंका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको आर्मी पाँचौं स्थानमा छ । 


प्रतिक्रिया