केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेटमा पुलिसको पहिलो जित

मंसिर १०, २०८० | काठमाडौं
पोखरामा जारी केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ । समुह सी अन्तर्गत पोखरा रंगशालामा आज भएको खेलमा पुलिसले मधेश प्रदेशलाई ५७ रनले हरायो । १ सय ७६ रनको लक्ष्य पछ्याएको मधेश १८ ओभर २ बलमा अलआउट हुँदै १ सय १८ रनमा समेटियो । त्यसअघि पोखरा रंगशालामा मधेशविरूद्ध टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो ।
पुलिसका ओपनर कुशल भुर्तेलले शतक प्रहार गरे । उनले ५७ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै १ सय २ रन जोडे । यस्तै, सुनिल धमला ४५ रनमा आउट भए । कुशल र सुनिलले पहिलो विकेटका लागि १६ ओभरमा १ सय ३८ रनको साझेदारी गरे । मधेशका विशाल पटेल र विशाल सुस्लिङले २–२ विकेट लिए । जितसँगै पुलिसले दुई अंक जोडेको छ । मधेशले भोली दोस्रो खेलमा सुदुरपश्चिम प्रदेशसँग खेल्ने छ ।