केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेटः त्रिभुवन आर्मी र मधेश प्रदेश विजयी

मंसिर ११, २०८० | काठमाडौं
केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा त्रिभुवन आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी निलोलाई १ सय १० रनले हराएको हो ।
१ सय ९६ रनको लक्ष्य पछ्याएको मदन भण्डारी स्पोर्ट्स एकेडेमी १५ ओभर ४ बलमा अलआउट हुँदै ८५ रनमा समेटियो । एकेडेमीका लागि कप्तान निर्भिक पाठकले २८ रन जोड्नु बाहेक अन्यले राम्रो खेल्न सकेनन् । त्यसअघि मदन भण्डारी स्पोर्ट्स एकेडेमीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा आएको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो । उसका लागि सन्तोष कार्कीले सर्वाधिक ४१ रन जोडे ।
जितपछि २ अंक जोडेको आर्मी समूह डी को शीर्ष स्थानमा छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले अब पर्सि बुधबार यसै समुहमा रहेको कोशी प्रदेशसँग खेल्ने छ ।
यसैबीच, आजै भएको समुह सी अन्तर्गतको खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै मधेश प्रदेशले पहिलो जित हात पारेको छ । ५९ रनको लक्ष्य मधेशले ४ ओभर ४ बलमा २ विकेटको क्षतिमा पूरा ग¥यो ।
मधेशका लागि अनिल शाहले सर्वाधिक २५ रन जोडे । टस जितेर ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित ओभरमा अलआउट हुँदै ५८ रन बनाएको थियो । दुई खेल खेलेको मधेश र एक खेल खेलेको पुलिसको समान २ अंक भएपनि रनरेटका आधारमा पुलिस शीर्ष र मधेश दोस्रो स्थानमा छ ।