सनराइजर्स हैदरावाद आइपीएलको फाइनलमा

जेष्ठ १२, २०८१ | काठमाडौं

सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई पराजित गर्दै इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) को फाइनलमा प्रवेश गरेको छ । 

चेन्नईको एमए चिदम्बरम स्टेडियममा गएराति भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै सनराइजर्स हैदरावाद तेस्रो पटक आइपीएलको फाइनलमा पुगेको हो ।

हैदरावादले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थान निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ३९ रनमा समेटियो । ध्रुव जुरेलले सर्वाधिक ५६ रन बनाए । 

ओपनर यशस्वी जैसवालले ४२ रनको योगदान दिए पनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । हैदरावादका शाहबाज अहमदले ३ तथा अभिषेक शर्माले २ विकेट लिए । प्याट कमिन्स र थांगारासु नटराजनको नाममा एक÷एक विकेट रह्यो ।

यसअघि राजस्थानले टस जितेर फिल्डिङ रोजेकोपछि पहिला ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । 

हैदरावादका लागि हेनरिक क्लासनले सर्वाधिक ५० रन बनाए । राहुल त्रिपाठीले ३७ र ट्राभिस हेड ३४ रन रनमा आउट भए । राजस्थानका लागि ट्रेन्ट बोल्ट र आवेश खानले ३–३ तथा सन्दीप शर्माले २ विकेट लिए । 

अब आइपीएलको १७ औं संस्करणको उपाधिका लागि सनराईजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स भिड्ने छन् । २०१८ मा उपविजेता भएको हैदरावाद ६ वर्षपछि फाइनलमा पुगेको हो । 

यसअघि पहिलो क्वालिफायरमा कोलकाताले हैदरावादलाई पराजित गरेको थियो । हैदरावादले दोस्रो क्वालिफायरमा राजस्थानलाई पराजित गरेपछि कोलकातासँगको उपाधि भिडन्त पक्का गरेको हो । 

फाइनल खेल भोलि (आइतबार) हुँदैछ । कोलकाता दुई पटकको विजेता हो भने हैदरावादले एक पटक आईपीएलको उपाधि जितेको छ ।


प्रतिक्रिया