अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो

असार ११, २०८१ | काठमाडौं

अफगानिस्तान टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । ‘सुपर–एट’को समूह एकको अन्तिम खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तानले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 

वर्षाले खेल प्रभावित भएपछि डकवर्थ लेविस डीएसएल नियम अनुसार बंगलादेशले जितका लागि १९ ओभरमा १ सय १४ रनको लक्ष्य पाएको थियो । बंगलादेश लक्ष्य पछ्याउने क्रममा १७ ओभर ५ बलमा १ सय ५ रनमा अलआउट भएको थियो । 

बंगलादेशका लागि ओपनर लिप्टन दासले सर्वाधिक ५४ रन बनाए । यस्तै, तौहिद हृदयले १४ र सौम्य सरकारले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । अफगानिस्तानका लागि कप्तान राशिद खान र नवीन उल हकले समान ४÷४ विकेट लिए ।

त्यसअघि वेस्ट इन्डिजको किङ्ग्स टाउनमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १ सय १५ रन बनाएको हो । अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुरबाजले सर्वाधिक ४३ रन बनाए । 

कप्तान राशिद खानले १९, इब्राहिम जद्रानले १८, अजमतुल्लाह उमरजईले १० बनाएर आउट भए । बंगलादेशका रिशाद होसेनले सर्वाधिक तीन विकेट लिए । यस्तै, तस्किन अहमेद र मुस्ताफिजुर रहमानले समान एक÷एक विकेट लिए ।

अफगानिस्तानको जितपछि अस्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ । योसँगै टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । 

अब सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डले इण्डिया तथा अफगानिस्तानले दक्षिण अफ्रिकालेको सामना गर्नेछ । दुवै सेमिफाइनल पर्सि बिहीबार हुनेछन् ।


प्रतिक्रिया