डिफेन्डिङ च्याम्पियन इटाली युरो कप फुटबलको अन्तिम १६ मा

तस्बिर रोयटर्स 

असार ११, २०८१ | काठमाडौं

समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग रोमाञ्चक बराबरी गर्दै डिफेन्डिङ च्याम्पियन इटाली युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । समूह बीको खेलमा गएराति क्रोएसियाले खेलको ५५ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । 

पेनाल्टी मिस गरेका लुका मोड्रिकले इटालीका किपरबाट रिबाउन्ड भएको बलमा आकर्षक गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । तर, ९० मिनेटपछि थपिएको ८ मिनेटको समय सकिन ४२ सेकेन्ड बाँकी रहँदा इटालीका माटिया जाकाग्नीले गोल गर्दै बराबरी गरेका हुन् । 

यो बराबरीपछि इटाली नकआउट चरणमा प्रवेश गर्‍यो भने अन्तिम १६ मा पुग्ने क्रोएसियाको सपना चकनाचुर भयो ।

समूह बी’बाट तीन जितसहित स्पेन ९ अंक जोडेर समूह विजेता हुँदै अन्तिम १६ मा पुगिसकेको छ । उसले समूह चरणमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा गएराति अल्बानियालाई १–० ले पराजित गर्‍यो । 

फेरान टोरेसले स्पेनका लागि १३ औं मिनेटमा गोल गरेका थिए । इटाली ४ अंकसहित दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुगेको हो । क्रोएसिया भने दुई अंकसहित तेस्रो स्थानमा सीमित रह्यो । 


प्रतिक्रिया