नेपाल टी-२० विश्वकप क्रिकेटमा बंगलादेशसँग २१ रनले पराजित

असार ३, २०८१ | काठमाडौं

नेपाल आईसीसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेशसँग पराजित भएको छ । वेस्ट इन्डिजको किंग्सटाउनमा भएको समूह ‘डी’को आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो । 

लगातार दोस्रो खेलमा पनि मध्यम स्कोर पछ्याउन नसकेपछि नेपालको टी–२० विश्वकप यात्रा समाप्त भईसकेको छ । नेपाललाई पराजित गर्दै बंगलादेश भने ‘सुपर एट’मा पुगेको छ । 

जितका लागि १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै ८५ रन मात्र बनाउन सक्यो । नेपालले सानदार सुरुवात गरेपनि ब्याटिङमा सम्हालिएर खेल्न नसक्दा पराजित हुन पग्यो । 

नेपालका लागि कुशल मल्लले सर्वाधिक २७ रन बनाए । दीपेन्द्र सिंह ऐरीले २५, आशिफ शेखले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बंगलादेशका तान्जिम हसन सकिबले सर्वाधिक ४ विकेट लिए । मुस्तफिजुर रहमानले ३, सकिब अल हसनले २ तथा तास्किन अहमदले एक विकेट लिए ।

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङमा आएको बंगलादेशले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । 

बंगलादेशका लागि साकिब अल हसनले बनाएको १७ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, कप्तान रोहित पौडेल र सन्दीप लामिछानेले समान २–२ विकेट लिए ।

यसैबीच, लेग स्पिनर सन्दीप लामिछाने टी–२० आईमा एक सय विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । आईसीसी टी–२० विश्वकपमा बंगलादेशविरुद्धको खेलमा दुई विकेट लिँदै सन्दीपले ५४ औं खेलमा १ सय विकेट पूरा गरेका हुन् । 

नेपालबाट सन्दीपपछि करण केसीले ७० खेलमा ९० विकेट लिएका छन् । टी–२० क्रिकेटमा सबै भन्दा छिटो १ सय विकेट लिने बलरको सूचीमा सन्दीप दोस्रो स्थानमा छन् । 

अफगानिस्तानका राशिद खानले यो उपलब्धी ५३ खेलमा पूरा गरेका थिए । नेपाल यसअघि नेदरल्यान्ड्सँग ६ विकेटले र दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो । श्रीलंकासँगको खेल वर्षाले रद्द भएको थियो । 


प्रतिक्रिया