विवादास्पद कर विधेयक फिर्ता लिने केन्या सरकारको घोषणा

असार १३, २०८१ | काठमाडौं

अफ्रिकी मुलुक केन्यामा करवृद्धि सम्बन्धी विवादास्पद वित्त विधेयक फिर्ता लिने सरकारले घोषणा गरेको छ ।

करवृद्धि सम्बन्धी सो विधेयकलाई लिएर नागरिकको विरोध उत्कर्षमा पुगेपछि राष्ट्रपति विलियम रुटोले फिर्ता लिने घोषणा गर्नु भएको हो ।

विरोध प्रर्दशनले हिंसात्मक रुप लिएपछि २२ जनाको मृत्यु भएको थियो । राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति रुटोले करवृद्धिको प्रावधान समावेश भएको वित्त विधेयक फिर्ता लिने बताउनुभयो ।

उहाँले विधेयकमा हस्ताक्षर नगर्ने समेत बताउनुभएको छ । सो विधेयकमा करवृद्धिको प्रावधान राखिएपछि देशभर हिंसात्मक प्रदर्शन भएको थियो ।

राष्ट्रपति रुटोले आफू सन् २०२२ मा निर्वाचित भएदेखि देशमा हुने सबैभन्दा ठूलो विरोध प्रदर्शनमा अग्रपंक्तिमा रहेका युवासँग वार्तालाप गर्ने पनि बताउनुभयो ।

केन्याका जनताले यस विधेयकसँग कुनै सरोकार राख्न नचाहेको स्पष्ट भएको उहाँको भनाई छ ।

 केन्याको राष्ट्रिय मानव अधिकार आयोगले यस विधेयकको विरोधमा भएको हिंसात्मक प्रदर्शनमा अहिलेसम्म २२ जनाको मृत्यु भएको जनाएको छ ।


प्रतिक्रिया