एसीसी महिला एसिया कप खेल्ने नेपाली क्रिकेट टिमको घोषणा

तस्बिर : नेपाल क्रिकेट संघ  

असार १३, २०८१ | काठमाडौं

एसीसी महिला एसिया कप खेल्ने नेपाली क्रिकेट टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । 

महिला एसिया कप आगामी जुलाई १९ देखि २८ सम्म श्रीलंकाको दम्बुलामा आयोजना हुँदैछ । नेपाली टिममा रुबिना क्षेत्री, सीता रानामगर, विन्दु रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी र सम्झना खड्का छन् । 

त्यसैगरी काजोल श्रेष्ठ, सबनम राई, राजमति ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट पनि टोलीमा रहेकी छन् । नेपाली महिला टिमले अहिले लामो अभ्यास गरिरहेको छ । प्रशिक्षक मनोज कटुवालले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । 

यसअघि गत फागुनमा मलेसियामा सम्पन्न एसिया कप छनोटमा नेपाल सेमिफाइनलमै रोकिएको थियो । छनोटको फाइनल पुग्ने टोलीले मात्र एसिया कप खेल्ने पाउने प्रावधान थियो । 

नेपाललाई रोक्दै मलेसिया एसिया कपका लागि छनोट भएका थिए । नेपाली महिला टोली सेमिफाइनलमा मलेसियासँग अन्तिम ओभरमा ४ विकेटले पराजित भएको थियो । 

छनोटमा पराजित भएपनि नेपाल र थाइल्यान्डलाई भने एसियाली क्रिकेट परिषद् (एसीसी) ले एसिया कप खेल्न मौका दिएको हो । नेपालले तेस्रो पटक एसिया कप खेल्न लागेको हो ।

नेपालले यसअघि सन् २०१२ र २०१६ मा एसिया कप खेलेको थियो । एसीसीले यसअघि नै खेल तालिका सार्वजनिक गरिसकेको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै इण्डिया, पाकिस्तान र संयुक्त अरब इमिरेट्स यूएई छन् । 

श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड भने समूह ‘बी’ मा रहेको छ । तालिका अनुसार नेपालले जुलाई १९ मा पाकिस्तान, २१ मा यूएई र २३ मा इण्डियासँग समूह चरणको खेल खेल्नेछ ।


प्रतिक्रिया