बेल्जियमलाई हराउँदै फ्रान्स युरो कप फुटबलको अन्तिम आठमा

तस्बिर : रोयटर्स 

असार १८, २०८१ | काठमाडौं

बेल्जियमलाई हराउँदै फ्रान्स युरो कप फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । जमर्नीको डसेलडोर्फ एरिना स्टेडियममा गएराति भएको खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले हराएको हो । 

खेलको ८५ औं मिनेटमा बेल्जियमका जान भेरटोगेनले आत्मघाती गोल गरेपछि फ्रान्स क्वार्टरफाइनलमा पुगेको हो । रान्डल कोलो मुनिको प्रहार भेरटोगेनबाट डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । 

फ्रान्सले गोलका धेरै अवसर खेर फालेको थियो । यो हारसँगै बेल्जियमको युरो कप यात्रा समाप्त भएको छ ।

यसैबीच, पोर्चुगलले स्लोभेनियालाई नाटकीय रुपमा पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । फ्रान्कफर्ट एरिनामा गएराति भएको खेल निर्धारित र अतिरिक्त समयमा पनि गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । 

पेनाल्टी सुटआउटमा पोर्चुगलले स्लोभेनियालाई ३–० गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । पेनाल्टीमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज र बर्नार्डो सिल्भाले गोल गरे । 

पोर्चुगलको जितका गोलरक्षक डिएगो कोस्टाले उत्कृष्ट प्रदर्शन गरे । अब आगामी शुक्रबार हुने अन्तिम आठको खेलमा पोर्चुगलले फ्रान्सको सामना गर्नेछ ।

यसैबीच, युरो कप अन्तर्गत आज रोमानियाले नेदरल्याण्डस्को सामना गर्नेछ । एलियान्ज एरिना स्टेडियममा हुने रोमानिया र नेदरल्याण्डस्बीचको खेल आज राति पौने १० बजे सुरु हुनेछ । अर्को खेलमा अष्ट्रियाले टर्कीसँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टोलीबीचको खेल राति पौने एक बजे सुरु हुनेछ ।


प्रतिक्रिया