युरो कप फुटबलमा आज इंग्ल्याण्ड र स्लोभाकिया खेल्दै

असार १६, २०८१ | काठमाडौं

जर्मनीमा जारी युरो कप फुटबलको नकआउट चरणमा आज इंग्ल्याण्ड र स्लोभाकियाबीच प्रतिस्पर्धा हुँदैछ ।

दुई टोलीबीचको खेल राति पौने १० बजे सुरु हुनेछ । इंग्ल्याण्ड समूह सी को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । यता, स्लोभाकिया समूह ई को उत्कृष्ट तेस्रो टोली बन्दै अर्को चरण पुगेको हो । यी दुईबीच भएका पछिल्ला पाँच खेलको नतिजा अनुसार इंग्ल्याण्ड हाबी छ ।

चार खेल इंग्ल्याण्डले जित्दा, एक खेल गोलरहित बराबरीमा सकियो । यस्तै, आजै हुने अर्को खेलमा तीन पटकको च्याम्पियन स्पेनविरुद्ध डेब्यू टोली जर्जियाले प्रतिस्पर्धा गर्नेछ ।

खेल राति पौने १ बजे सुरु हुनेछ । जारी युरोकपमा अपराजित रहेको स्पेनसमूह बी को विजेता बन्दै अर्को चरण पुगेको हो । डेब्यू टोली जर्जिया समूह एफ बाट उत्कृष्ट तेस्रो टोली बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

यसैबीच, साविक विजेता इटाली युरो कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । जर्मनीको बर्लिनमा गएराति भएको नकआउट चरणको पहिलो खेलमा स्वीट्जरल्यान्डले इटालीलाई २–० गोल अन्तरले पराजित गरेको हो । यस्तै, आयोजक जर्मनीले युरो कपको अन्तिम आठको यात्रा तय गरेको छ । अन्तिम १६ को खेलमा जर्मनीले डेनमार्कलाई २–० गोलले पराजित गरेको हो । 


प्रतिक्रिया