टर्की र नेदरल्याण्डस् युरोकप फुटबलको क्वार्टरफाइनलमा

तस्बिर : रोयटर्स 

असार १९, २०८१ | काठमाडौं

मेरिह डेमिरलको दुई गोलको मद्दतमा टर्की युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । जमर्नीको लाइपजिग स्टेडियममा गएराति भएको खेलमा अस्ट्रियालाई २–१ गोलले पराजित गर्दै टर्कीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । 

डेमिरलले खेल सुरु भएको ५७ सेकेण्डमै गोल गर्दै टर्कीलाई अग्रता दिलाएका थिए । खेलको ५९ औं मिनेटमा डेमिरलले व्यक्तिगत दोस्रो गोल गर्दै टर्कीको अग्रता दोब्बर पारे । 

पहिलो हाफमा खासै राम्रो प्रदर्शन गर्न नसकेको अस्ट्रिया दोस्रो हाफमा भने लयमा फर्किएको थियो । अस्ट्रियाका लागि माइकल ग्रेगोरिचले खेलको ६६ औं मिनेटमा एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त भएन । अब टर्कीले क्वार्टरफाइनलमा नेदरल्याण्ड्सको सामना गर्नेछ ।

यसैबीच, गएराति नै भएको अर्को खेलमा नेदरल्याण्डस्ले रोमानियाविरुद्धको खेलमा रोमाञ्चक जित हासिल गरेको छ । एलियान्ज एरिनामा भएको खेलमा रोमानियालाई ३–० गोलले हराउँदै नेदरल्याण्डस् युरोकप फुटबलको अन्तिम आठमा प्रवेश गरेको हो । 

नेदरल्याण्डस्को जितमा डोनिएल मालनले दुई तथा कोडी गाक्पोले एक गोल गरे । गाक्पोले खेलको २० औं मिनेटमा गोलको खाता खोले । त्यसपछि मालेनले ८३ औं र दोस्रो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गरे । 

यो हारसँगै रोमानिया र अस्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ । गएराति भएका दुई खेलसँगै युरोकपको अन्तिम आठको समीकरण पूरा भएको छ । अन्तिम आठको खेल पर्सि शुक्रबारदेखि सुरु हुनेछ । 

शुक्रबार हुने क्वार्टरफाइनलको पहिलो खेलमा स्पेनले जर्मनी, र पोर्चुगलले फ्रान्सको सामना गर्नेछ । शनिबार हुने खेलमा इंग्ल्यान्ड र स्वीट्जरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्की भिड्ने छन् ।


प्रतिक्रिया