एसिया कप क्रिकेटमा नेपालको ऐतिहासीक जितः पहिलो खेलमा यूएई ६ विकेटले पराजित

श्रावण ४, २०८१ | काठमाडौं

ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा नेपालले एसीसी महिला टी–२० एसिया कप क्रिकेटमा ऐतिहासीक पहिलो जित हासिल गरेको छ ।

श्रीलंकामा आज सुरु एसिया कपको उद्घाटन खेलमा नेपाले संयुक्त अरब इमिरेट्स यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको हो । सन् २०१२ र २०१६ मा गरि दुई पटक एसिया कप खेलेको नेपालले यसअघिका सबै ८ खेलमा हार व्यहोरेको थियो ।

दाम्बुला क्रिकेट स्टेडियममा १ सय १६ रनको लक्ष्य नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा ओपनर सम्झना खड्का ४५ बलमा ११ चौकासहित ७२ रनमा नटआउट रहिन् । ३५ बलमा अर्धशतक पूरा गरेकी सम्झनाको टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो अर्धशतक हो ।

उनले गत वर्ष मलेसियामा सम्पन्न एसीसी प्रिमियर कपमा हङकङविरुद्ध अविजित ३६ रन बनाएकी थिइन् । यस्तै, सम्झनाको इनिङ्स नेपाली महिला खेलाडीको एसिया कपमा पहिलो अर्धशतक हो । यस्तै, पूजा महतो ७ रनमा नट आउट रहदा, रुविना क्षेत्री बेलबासे १०, सीता रानामगर ७, कविता कुँवर २ र कप्तान इन्दु बर्मा ६ रनमा आउट भइन् । यूएईकी कविसा कुमारीले ३ विकेट लिइन् ।

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय १५ रन बनाएको थियो । यूएईका लागि खुसी शर्माले सर्वाधिक ३६ रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएन ।

नेपालकी कप्तान इन्दुले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । यस्तै, स्पिनर कृतिका मरासिनी, सबनम राई र कविता जोशीले समान एक एक विकेट लिए । नेपालले अब दोस्रो खेल पर्सि आइतबार पाकिस्तान र साउन ८ मा इण्डियासँग खेल्नेछ । 


प्रतिक्रिया