श्रीलंकासँगको अभ्यास खेलमा नेपाल ५ विकेटले पराजित

भाद्र २१, २०८१ | काठमाडौं

श्रीलंका क्रिकेट विकास बोर्डसँगको अन्तिम तथा तेस्रो अभ्यास खेलमा नेपाल पराजित भएको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडा र ओमानविरुद्धको एकदिवसीय सिरिजको तयारी स्वरुप भएको अभ्यास खेलमा नेपाल ५ विकेटले पराजित भएको हो । टस हारेर सुरुवाती ब्याटिङ गरेको नेपालले ४० ओभरमा अल आउट हुँदै दिएको १ सय ६० रनको लक्ष्य श्रीलंकाको टोलीले २६ ओभर ५ बलमा ५ विकेटको क्षतिमा भेट्टाएको हो ।

श्रीलंकाको जितमा सन्जुलाले सर्वाधिक ६८ रन बनाए । नेपालका लागि सोमपाल कामी र गुल्सन झाले समान २–२ तथा ललितनारायण राजवंशीले १ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४३ रन जोडे । यस्तै, कुशल मल्लले ३५, आरिफ शेखले २० रन र करण केसीले १५ रन बनाउन सके ।

श्रीलंकन टोलीका गरुका संकेतले ७ ओभरमा ३९ रन खर्चिएर ४ विकेट लिए । यसघि तय भएको दूइवटा अभ्यास खेल भने वर्षाका कारण रद्द भएको थियो । नेपाली टोली अब केही दिन श्रीलंकमा तयारी गरेपछि क्यानडामा भदौ ३१ गतेबाट सुरु हुने आईसीसी विश्वकप लिग टु को दोस्रो सिरिजका लागि त्यसतर्फ जाने छ ।    


प्रतिक्रिया