महिला क्रिकेटको उपाधिका लागि एपीएफ र सुदूरपश्चिम भिड्दै

माघ १२, २०८१ | काठमाडौं

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपीएफ क्लले सुदूरपश्चिम प्रदेशको सामना गर्दैछ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने फाइनल खेल बिहान ९ बजे सुरु हुनेछ । 

सुपर फोर अन्तर्गत शुक्रबार जित निकाल्दै दुबै टोली फाइनलमा पुगेका हुन् । साविक विजेता एपीएफ अपराजित रहँदै प्रतियोगिताको फाइनल पुगेको हो । गत वर्ष एपीएफ क्लबले फाइनलमा कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै छैटौं पटक च्याम्पियन बनेको हो । 

सुपर फोरको पहिलो खेलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गरेको थियो । फाप्ला मैदानमा १ सय १६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित १७ ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमात्रै बनाउन सक्यो । टस हारेर ब्याटिङ निम्तो पाएको एपीएफले प्रतिकूल मौसमका कारण १७ ओभरमा छोट्याइएको खेलमा ३ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।

घरेलु टोली सुदूरपश्चिमले भने सुपर फोरको अन्तिम खेलमा बागमती प्रदेशलाई ३० रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । १ सय १३ रनको लक्ष्य पछ्याएको बागमती १९ ओभर ४ बलमा सबै विकेट गुमाएर ९२ रनमा समेटियो । 

त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । यसअघि सुदूरपश्चिम प्रदेशले २०७९ मा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो । उसले फाइनलमा प्रदेश–१ लाई ६ विकेटले पराजित गर्दै उपाधि उचालेको हो ।

यही माघ १ गतेदेखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश र दुई विभागीय गरी ९ टोलीको सहभागिता रहेको थियो । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको छ । 

प्रतियोगिताको उपाधि विजेताले पाँच लाख, उपविजेताले तीन लाख, प्लेयर अफ द सिरिजले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । बेस्ट ब्याटर र बेस्ट बलरले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


प्रतिक्रिया