हमासले दुईपटक सम्झौताको उल्लंघन गरेको इजरायलको आरोप
माघ १३, २०८१
इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीच भएको युद्धविरामले एकपछि अर्को अड्चनको सामना गर्नुपरेको छ । हमासले दुईपटक सम्झौताको उल्लंघन गरेको इजरायलले आरोप लगाएको छ । इजरायलको यो आरोपले युद्धविराम फेरि भङ्ग हुन सक्ने आशंका बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दोस्रो पटक बन्दी रिहाइ गर्दा हमासले सूची दिएअनुरुप रिहाइ नगरेको आरोप लगाउनुभएको छ । हमासले सर्तअनुसार अर्बेल येहुद नामक नागरिकलाई रिहाइ गर्ने भनिएपनि नगरेको र सबै बन्धककोसूची पनि उपलब्ध नगराएको प्रधानमन्त्री नेतान्याहुको दाबी छ ।
हमासले युद्धविरामको सम्झौताअनुसार हिजो ४ जना इजरायली महिला सैनिक रिहा गरेको थियो । एक साताअघि भएको युद्धविरामको सम्झौताअनुसार हालसम्म ७ जना बन्धक र ३० भन्दा बढी प्यालेस्टीनी कैदी रिहाइ भएका छन् ।