सरकारले वैदेशिक सम्बन्ध सञ्चालनमा अपरिपक्वता र असन्तुलन देखाएको राप्रपाको निष्कर्ष
माघ १३, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले वैदेशिक सम्बन्ध सञ्चालनमा अपरिपक्वता र असन्तुलन देखाएको निष्कर्ष निकालेको छ ।
सरकारले वैदेशिक सम्बन्ध संचालनमा देखाएको अपरिपक्वताले देश भूराजनीतिक समस्यामा फस्न सक्ने भन्दै राप्रपाले सचेत गराएको हो । राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जारी गरेको केन्द्रीय समितिका निर्णयमा भनिएको छ, ’वैदेशिक सम्बन्ध सञ्चालनमा देखिएको अपरिपक्वता र असन्तुलनले देश ढिलोचाँडो भूराजनीतिक चक्रव्यूहमा फस्न सक्ने खतरा टड्कारो देखिएको छ ।
’त्यस्तै, सरकार सुशासन कायम गर्नमा असफल भएको पनि राप्रपाको निष्कर्ष छ । सरकार चौतर्फी रूपमा असफल भएको र वर्तमान गठबन्धन सरकारको उपादेयतासमेत समाप्त भएको राप्रपाको निर्णय भनिएको छ । राप्रपाले आफ्नो राजनीतिक एजेण्डा र जनजीविकाका पक्षमा आगामी दिनमा सडक र सदनमा सशक्त र प्रभावकारी ढंगमा प्रस्तुत हुने पनि निर्णय गरेको छ ।