आहा-रारा पोखरा गोल्डकपमा चर्च ब्वाइजले आर्मीको सामना गर्दै
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2025/sports/AahaRara-1738998511.jpg&w=700&height=600)
माघ २८, २०८१ | पोखरा
आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेडले साविक विजेता त्रिभुवन आर्मी क्लबको सामना गर्ने भएको छ । पोखरा रंगशालामा हुने विभागीय टोली आर्मी र चर्च ब्वाइजबीचको खेल दिउँसो साढे २ बजेपछि सुरु हुनेछ ।
साविक विजेता आर्मी सोझै क्वाटरफाइनलमा छानिएको हो । गत संस्करणमा त्रिभुवन आर्मीले थ्री स्टारलाई हराएको उपाधि जितेको थियो । चर्च ब्वाइजले भने एनआरटीलाई सडन डेथमा हराउँदै प्रतियोगिताको क्वाटरफाइनल पुगेको हो ।
पोखरा रंगशालामा बिहीबार भएको खेल निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउट हुँदै सडनडेथसम्म पुगेको थियो । ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज आर्मीलाई रोक्दै अन्तिम चारमा स्थान बनाउने लक्ष्यमा छ । आर्मी पनि चर्च ब्वाइजको चुनौती पन्छयाउँदै सेमिफाइनल पुग्ने दाउमा हुनेछ ।
यसअघि हिजो भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै थ्रीस्टार क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । आगामी फागुन ३ मा हुने प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।