अर्जुन ट्रफीको फाइनलमा अत्तरिया र फ्रेन्ड्स युथ क्लब भिड्दै
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2025/sports/arjuntrophy31120250504521000x0-1739156700.jpg&w=700&height=600)
माघ २८, २०८१ | धनगढी
अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि सीवाईसी अत्तरिया र डडेलधुराको फ्रेन्ड्स युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने सीवाईसी अत्तरिया र फ्रेन्ड्स युथ क्लबबीच फाइनल खेल दिउँसो एक बजे सुरु हुनेछ ।
अत्तरियाले दोस्रो सेमिफाइनलमा डीसीए धनगढीमाथि ६ विकेटको रोमाञ्चक जित हात पार्दै उपाधि नजिक पुगेको हो ।
पहिलो सेमिफाइनलमा नेपाली राष्ट्रिय टोलीका ओपनिङ ब्याटर कुशलको अलराउन्ड प्रदर्शनमा फ्रेन्ड्स युथ क्लबले न्यू होराइजन बुटवललाई ५ विकेटले पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो ।
माघ १९ देखि सुरु भएको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो । धनगढी क्षेत्रका प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा गो ड्रिमर्सले आयोजना गरेको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार रुपैयाँ पाउनेछन् ।