रुपन्देहीमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु

फाल्गुन २५, २०८१ | तिलोत्तमा
प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता रुपन्देहीमा सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता काठमाडौं बाहिर आयोजना गरेको हो ।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशाला र तिलोत्तमामा रहेको एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा आइतबारदेखि प्रतियोगिता सुरु भएको हो । सिद्धार्थ क्रिकेट रंगशालामा प्रतियोगिताको संघीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभयो ।
सो अवसरमा उहाँले प्रदेश स्तरमा भौतिक पूर्वाधार बनाउन जरुरी रहेको र अब एक पालिकामा एक खेल मैदान बनाउने सरकारको लक्ष्य रहेको सुनाउनुभयो । नेपाल प्रिमियर लिग (एनपीएल) ले सबै खेलाडीलाई ऊर्जा थपेको बताउँदै यो प्रतियोगिताले खेलाडीको मनोबल वृद्धि हुने उहाँको भनाई छ । सिद्धार्थ क्रिकेट रंगशालामा अहिले कोशी प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ ।
यस्तै, जिल्लाको तिलोत्तमा नगरपालिका–१७, दरखसवास्थित एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा पनि खेल भईरहेको छ । एक्सट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले उद्घाटन गर्नुभयो ।
प्रतियोगिताको उद्घाटन गर्दै उहाँले निजी लगानीमा संरचना तयार गरेर राष्ट्रिय खेल खेलाउँदै पालिकालाई समेत चिनाएकोमा खुसी व्यक्त गर्नुभयो । नेपाली क्रिकेटमा तिलोत्तमाका खेलाडीको सकृय सहभागिता रहेकाले क्रिकेटको क्रेज बढाउन र थप खेलाडी उत्पादन गर्न पालिकाले सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो ।
सो मैदानमा अहिले एपीएफ र बाग्मती प्रदेशबीच खेल भइरहेको छ । यी दुई मैदान बाहेक दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा समेत खेल चलिरहेको छ । २१ दिनसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने क्यानले जनाएको छ ।
फागुन २५ देखि चैत १६ गतेसम्म हुने प्रधानमन्त्री कप सिंगल राउन्ड रोबिन शैलीमा आयोजना हुनेछ । सिंगल राउन्ड रोबिन शैलीमा प्रतियोगिता सम्पन्न भएपछि शीर्ष र दोस्रो स्थानमा टोलीले फागुन २९ गते फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
सिद्धार्थ रंगशालामा फाइनल सहित १७ खेल आयोजना हुँदा एक्स्ट्रा टेकमा १५ खेल हुनेछन् । लमहीले भने १४ खेल आयोजनाको अवसर पाउनेछ । सिद्धार्थ र लमही सरकार मातहतका मैदान हुन् भने एक्स्ट्रा टेक निजी रंगशाला हो । एक्स्ट्रा टेक मैदानको अहिले निमार्ण कार्य भइरहेको छ ।