प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र लुम्बिनी भिड्दै

चैत्र १०, २०८१ | तिलोत्तमा

रुपन्देहीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार विभागीय टोली त्रिभुवन आर्मीले लुम्बिनी प्रदेशको सामना गर्दैछ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा आर्मी र लुम्बिनी बिहान ९ बजे आमनेसामने हुनेछन् । 

उपाधि दाबेदार आर्मी जितको यात्रालाई निरन्तरता दिने योजनामा छ । यसअघिका ७ मध्ये ६ खेलमा जित हात पार्दै आर्मी १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । उपाधिको बलियो प्रत्याशी नेपाल पुलिस क्लब अपराजित रहँदै १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । 

आर्मी शीर्ष स्थानको पुलिससँग २ अंकले पछाडि छ । आइतबारको खेलमा लुम्बिनीको चुनौती पन्छ्याउँदै आर्मी तालिकाको शीर्ष स्थानमा उक्लिन चाहन्छ । अनुभवी खेलाडी विनोद भण्डारीको कप्तानीमा रहेको आर्मीमा तीब्र गतिका बलर सोमपाल कामी, कुशल मल्ल, तृतराज दास, आकाश चन्द, साहब आलम, बसिर अहमद, नरेन साउद, सन्तोष कार्की, भीम सार्की, विवेक यादव लगायत खेलाडी छन् ।

यता लुम्बिनी प्रदेश भने पछिल्लो दुई खेलमा व्यहोरेको लगातारको हारको नतिजा उल्टाउँदै अंक तालिकामा सुधार गर्न चाहन्छ । यसअघि खेलेका ७ मध्ये चारमा जित र ३ खेलमा हार व्यहोरेको लुम्बिनी ८ अंक जोडेर तालिकाको पाँचौं स्थानमा रहेको छ । देव खनालको नेतृत्वमा रहेको लुम्बिनीमा प्रज्वल थापा, आकाश त्रिपाठी, मनीष थापा, कृष्ण कार्की, रमेश कुर्मी बिप्रसन केसी, अजय चौहान र निर्मल गुरुङ लगायत छन् ।

प्रतियोगितामा सहभागी १० टोलीले राउन्ड रोबिनमा एकअर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनल खेल्ने छ । फाइनल खेल चैत १६ गते हुनेछ । प्रतियोगितामा ३ विभागीय टीम आर्मी, एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीम सहभागी छन् ।

एपीएफ र गण्डकी प्रदेश भिड्दै

प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको अर्को खेलमा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्दैछ । रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा एपीएफ र गण्डकीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । 

एपीएफ कमजोर गण्डकीलाई हराउँदै अंक तालिकामा सुधार गर्न चाहन्छ । यसअघिका ६ खेलमध्ये चारमा जित र दुईमा पराजित हुँदै एपीएफ तालिकाको तेस्रो स्थानमा रहेको छ । उसको ८ अंक छ ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेको रोहित पौडेलको नेतृत्वमा रहेको एपीएफमा लोकेस बम, आशिफ शेख, सन्दीप जोरा, दीपक बोहरा, सुमित महर्जन, भुवन कार्की, कमल ऐरी, अमर राउटेला लगायत खेलाडी छन् ।

यता गण्डकी भने लगातारको हारको यात्रामा पूर्णविराम लगाउन चाहन्छ । यसअघिका ७ खेल मध्ये गण्डकी एउटामा मात्र विजयी भएको छ । तालिकाको नवौं स्थानमा रहेको उसको मात्र २ अंक छ । एपीएफविरुद्धको खेल गण्डकीको लागि प्रतिष्ठाको लडाइ मात्र हुनेछ । लगातार ६ खेलमा पराजित गण्डकीको उपाधि यात्रा समाप्त भईसकेको छ ।


प्रतिक्रिया