नेपालले एसिया कप छनोटमा मलेसियाको सामना गर्दै

चैत्र १२, २०८१ | काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टोलीले एसिया कप छनोटको तेस्रो चरणमा मलेसियाको सामना गर्दैछ । सिंगापुरसँगको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलपछि नेपाली टोलीले एएफसी एसियन कप छनोटमा मलेसियासँग खेल्न लागेको हो । 

नेपाल र घरेलु टोली मलेसियाबीचको खेल इब्राहिम सुल्तान स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ । यसअघि मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा खेलमा सिंगापुरमाथि ऐतिहासिक जित हात पारेको नेपाल उत्साहित छ । 

बलियो टोली मलेसियाविरुद्ध पनि नेपालबाट सुधारिएको प्रदर्शन अपेक्षा गरिएको छ । मलेसियाविरुद्धको खेलअघि जोहोरमा भएको प्रि–म्याच कन्फ्रेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले मलेसियाविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् । 

मलेसिया बलियो टिम भएपनि आफूहरु योजना जित्नकै लागि खेल्ने र त्यसैअनुसार तयारी गरेको उनले बताए । यता मलेसियाका मुख्य प्रशिक्षक पिटर क्लामोभ्स्की नेपाललाई सजिलो प्रतिद्वन्द्वी मान्न नसकिने बताएका छन् । 

यसअघि नेपालले मलेसियाविरुद्धको खेल दशरथ रंगशालामा खेल्ने कार्यक्रम थियो । पछि दशरथ रंगशालाको स्थितिसँग एसियाली फुटबल महासंघ सन्तुष्ट हुन नसकेपछि मलेसिया सारिएको हो । 

मलेसियाको दोस्रो पटक सामना गर्दा नेपालसामु त्यसलाई घरको खेल बनाउने अवसर हुनेछ । नेपालले अन्तिम पटक मलेसियाविरुद्ध सन् २०२४ मा खेलेको थियो । क्वालालम्पुरमा भएको मैत्रीपूर्ण खेलमा नेपाल ५–१ ले पराजित भएको थियो । 


प्रतिक्रिया